दफा २४
प्रदेश तथा स्थानीयस्तरमा खेल संघ गठन तथा खेल संरचना निर्माण
(१) कम्तीमा पाँच वा सो भन्दा बढी जिल्ला खेल संघ आपसमा मिली प्रदेश कानून बमोजिम प्रदेश खेल संघ गठन गर्न सकिनेछ ।

(२) प्रदेश सरकारले प्रदेश स्तरमा खेलकुदको विकास, विस्तार र प्रर्वद्धन गरी खेलकुदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि प्रदेश कानूनमा व्यवस्था भए बमोजिमको खेलकुद सम्बन्धी संरचना निर्माण गर्न सक्नेछ ।

(३) प्रदेश सरकारले स्थानीय तहको खेलकुदलाई व्यवस्थित तथा समन्वय गरी जिल्लास्तरमा खेलकुदको सञ्चालन तथा विकास गर्न प्रत्येक जिल्लामा जिल्ला खेलकुद विकास समिति गठन गर्न सक्नेछ ।

(४) स्थानीय कानून बमोजिम स्थानीय तहले आफ्नो क्षेत्रभित्र खेलकुद गतिविधि सञ्चालन तथा खेल संस्था दर्ता गर्न सक्नेछ।

(५) स्थानीय तहले स्थानीय तहमा हुने खेलकुदको सञ्चालन, प्रवर्द्धन तथा विकास सम्बन्धी कार्य गर्न स्थानीय कानूनमा व्यवस्था भए बमोजिमको संरचना निर्माण गर्न सक्नेछ ।
(६) यस दफा बमोजिम प्रदेश वा स्थानीय तहमा खेल संघ गठन वा दर्ता गर्दा सम्बन्धित खेलको राष्ट्रिय खेल संघ वा महासंघ भएमा सो संघ वा महासंघको अनुमति लिनु पर्नेछ।